|
Posted by Administrator
|
|
Tuesday, 16 November 2010 |
|
सोलुखुम्बु : मानिस हिँड्ने मूल बाटोमा प्रत्येक विद्यालय-विद्यालयमा अनि मूल बस्तीको बीच-बीचमा प्लास्टिकको डस्टबिन राखिएका छन् ।
बाटो हिँड्ने बटुवा विद्यालयका शिक्षक एवम् विद्यार्थी र होटलवाला एवम् अन्यले त्यही फोहोरमैला फ्याँक्छन्। डस्टबिन भरिएपछि उनीहरुले जल्ने फोहोरमैलालाई जलाउँछन् र नजल्ने फोहोरमैलालाई जमीनमुनि गाड्छन्। विगत दुई वर्षयता टाक्सिन्दु गाविसभित्रका बाटोघाटो तथा त्यसका किनारा खोलाखोल्सी विद्यालय मुख्य बस्तीको आसपास यसै गरी फोहोर व्यवस्थापन हुँदै आएको छ। द स्मल वल्र्ड नामक संस्थाले फोहोरमैला फ्याँक्नका लागि डस्टबिनको व्यवस्था गरेपछि स्थानीयलाई फोहोरमैला व्यवस्थापन गर्न सजिलो भएको हो। सन् २००८ को अन्त्यतिर द स्मल वल्र्डले टाक्सिन्दु गाविसभित्र ४० को हाराहारीमा यस्तो डस्टबिनको व्यवस्था गरेको थियो । फोहोर फाल्ने भाँडोडस्टबिनको व्यवस्था नहुँदा पर्यटक एवम् बटुवाहरुले समेत फोहोरमैला जथाभावी फ्याँक्ने गरेको थियो। यसबाट वातावरण प्रदूषित हुने गथ्र्यो तर अहिले फोहोर फ्याँक्नका लागि सबैले डस्टबिन प्रयोग गर्न थालेपछि वातावरण सफा देखिएको छ -टाक्सिन्दुका आङ काले शेर्पाले बताउनुभयो। डस्टबिन राख्नुभन्दा पहिले होटलआसपास चक्लेट तथा विस्कुटका खोलहरु यत्रतत्र छरिएको स्मरण गर्दै नुनथलाकी आशा राईले भन्नुभयो- डस्टबिन नहुँदा सबैले जथाभावी फ्याँक्थे तर अब यस्तो छैन सबैले डस्टबिनमै फ्याँक्ने गरेका छन् । सोलुखुम्बुको जुनबेशी रिङमु हुँदै सगरमाथा प्रवेश गर्ने पर्यटकहरुका लागि मूल बाटो भएको हुनाले त्यस क्षेत्रको वातावरण प्रदूषण हुन नदिनका लागि आफ्नो संस्थाले डस्टबिन राख्ने कार्य गरेको र आज त्यो सफल पनि भएको द स्मल वल्र्डका अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो। वातावरण संरक्षणको काममा हामीले अझै थुप्रै काम गर्न बाँकी छ तर यो सानो कार्य भए पनि यसमा हामीलाई सफलता मिलेको छ -उहाँले भन्नुभयो । स्रोत : नेपाल समाचार पत्र, ०६७ कार्तिक ३०, पेज न ७ |