Posted by Administrator
|
Thursday, 18 November 2010 |
काठमाडौ : एसियाली विकास बैंकको नेपाल भ्रमणमा रहेको मिसनले मेलम्ची खानेपानी आयोजनाको सुरुङ बनाउन दिएको अवधिको ३५ प्रतिशत समय सकिँदा डेढ प्रतिशतमात्र काम भएकामा गम्भीर चिन्ता व्यक्त गरेको छ ।
एडीबीका डाइरेक्टर टेरेसा खोको नेतृत्वमा मेलम्ची आयोजनाको स्थलगत अध्ययन गरेपछि मिसनले बुधबार भौतिक योजना मन्त्रालय र आयोजनाका सम्बन्धित अधिकारी तथा ठेकेदारसमक्ष त्यस्तो चिन्ता व्यक्त गरेको हो । एडीबी मिसनले २६ किलोमिटर लामो सुरुङ निर्माण गर्न ठेकेदारलाई दिइएको कुल १५ सय ९६ दिन अवधिको ३५ प्रतिशत समय सकिइसक्दा पनि जम्मा डेढ प्रतिशत अर्थात् ३ सय ६७ मिटरमात्र सुरुङ खन्ने काम भएको थाहा पाएपछि सम्बन्धित पक्षसित दाताका तर्फबाट गम्भीर चिन्ता व्यक्त गरेको जानकारी भौतिक योजनाका अधिकारीले दिए । स्रोतका अनुसार मेलम्चीको सबभन्दा ठूलो दाता एडीबीको मिसनले भौतिक योजना निर्माण मन्त्रालयका खानेपानी हेर्ने सचिव दीप बस्न्यात, वैदेशिक सहायता महाशाखाका प्रमुख कमलराज पाण्डे, योजना महाशाखा प्रमुख कृष्ण आचार्य, खानेपानी महाशाखा प्रमुख राजुविक्रम मल्ल, मेलम्ची आयोजनाका प्रमुख हरि शर्मा र काठमाडौं उपत्यका खानेपानी वितरण प्रणाली सुधार आयोजनाका प्रमुख सुमन शर्मालगायत अधिकारीसितको वार्तामा सुरुङ निर्माणमा भएको ढिलाइप्रति रोष प्रकट गरेको थियो । मिसनले सुरुङ निर्माणमा भएको ढिलाइले काठमाडौंमा खानेपानी ल्याउन ढिलाइ हुने र लागतसमेत बढ्ने खतरातर्फ नेपाली अधिकारी र ठेकेदारलाई सचेत गराएको थियो । मेलम्चीमा एडीबीका अतिरिक्त नोराड र जापानी सहयोग संस्था जेभिकसमेत दाता छन् । उपत्यका खानेपानी वितरण प्रणाली सुधार आयोजनाको प्रगति भने सन्तोषजनक रहेको टिप्पणी मिसनको थियो । वार्तामा एडीबीका मेलम्ची प्रोजेक्ट एडमिनिस्ट्रेसन युनिटका प्रमुख मुरा मोतो र अर्बान डभेलपमेन्ट स्पेसलिस्ट मनोज शर्मा, एडीबीका नेपालस्थित मेलम्ची प्रोजेक्ट हेर्ने युनिट प्रमुख युकी सिरोमीलगायत सहभागी थिए । एडीबीको मिसन शुक्रबार र्फकने छ । मेलम्ची आयोजनाको सुरुङ निर्माण गर्न २००९ को फेब्रुअरीमा चिनियाँ कम्पनीलाई ठेक्का दिइएको हो । भौतिक योजना मन्त्रालयले ठेकेदारलाई २००९ को जुलाईमा काम सुरु गरी २०१३ को सेप्टेम्बरमा सुरुङ निर्माण सम्पन्न गर्न जिम्मा दिएको थियो । 'ठेकेदारलाई १५ सय ९६ दिनमा सुरुङ निर्माण सम्पन्न गर्ने जिम्मा दिइएको थियो । तर, ठेकेदारले झन्डै १४ महिना ढिलो सुरुङ खन्ने काम सुरु गर्यो । ठेकेदारले सुरुङ खन्न आवश्यक विस्फोटक पदार्थ र सामग्री समयमै जुटाउन नसकेका कारण अहिलेसम्म खासै काम हुन सकेको छैन । सुरुङ खन्न दिइएको कुल समयको झन्डै ३५ प्रतिशत सकिँदा सुरुङको डेढ प्रतिशत पनि काम हुन सकेको छैन,' भौतिक योजनाका एक अधिकारीले भने । ती अधिकारीका अनुसार मेलम्चीबाट काठमाडौंमा पानी ल्याउन २६ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्छ । तर चिनियाँ ठेकेदारले अहिलेसम्म जम्मा ३ सय ६७ मिटरमात्र सुरुङ खनेको छ, जुन कुल खन्नुपर्ने सुरुङको १.३५ प्रतिशतमात्रै हो । एडीबीको मिसनले सुरुङ निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्नका लागि दबाब दिन भौतिक योजनाका अधिकारीलाई मात्र नभई चिनियाँ ठेकेदार कम्पनीका अध्यक्षलाई समेत भेटेको थियो । चिनियाँ ठेकेदार कम्पनीका अध्यक्ष पनि अहिले नेपालमै छन् । एडीबीको मिसनको भ्रमणकै क्रममा नेपाली अधिकारी र चिनियाँ ठेकेदारसहित तीनवटै पक्ष बसेर सन् २०१३ को जुलाईमा सुरुङ निर्माण र मेलम्चीको मुहानमा बाँध इन्टेक निर्माण सक्न कार्ययोजना बनाइएको छ । हाल सुन्दरीजलबाट सुरुङ र सिन्धुबाट सुरुङ प्रवेश (अडिट टनेल) खन्ने काममात्र सुरु भएको छ । सुन्दरीजलको एक ठाउँबाट, सिन्धु, ग्याल्थुम र अम्बाथानबाट दुई/दुईतिरबाट गरी सात ठाउँबाट सुरुङ खन्ने काम गरिनेछ । सुन्दरीजल र सिन्धुबाट काम सुरु भएको छ भने अन्य ठाउँबाट सुरुङ खन्नका लागि अहिले मजदुर र ठेकेदार बस्ने क्याम्प निर्माण मात्र भइरहेको छ । कार्ययोजनाअनुसार ठेकेदारले आगामी फेब्रुअरीदेखि तीन ठाउँबाट, मार्चदेखि ५, मेदेखि ७ ठाउँबाट सुरुङ निर्माण कार्य सुरु गर्नुपर्ने छ । सात ठाउँबाट सुरु भएपछि प्रतिदिन ३५ मिटर र वर्षको १० किलोमिटरभन्दा बढी सुरुङ खन्नुपर्ने छ, यो दरमा काम गर्दा निर्धारित समय सन् २०१३ को जुलाईमा २६ किमि लामो सुरुङ निर्माण कार्य सम्पन्न हुनेछ । समयमै सुरुङ निर्माण सम्पन्न गर्न तीन सिफ्टमै कार्य गर्न ठेकेदारलाई निर्देश गरिएको छ । 'यो कार्ययोजनाअनुसार काम भएमात्र सुरुङ निर्माण कार्य निर्धारित मिति सन् २०१३ को जुलाईमा सकिने र सोही वर्षदेखि राजधानीवासीले मेलम्चीको पानी पाउने छन्,' भौतिक योजनाका अधिकारीले भने । कार्ययोजनामा सुरुङ निर्माण कार्यमा स्थानीयवासीबाट अवरोध आए नेपाली पक्षले समस्या समाधान गर्नुपर्ने उल्लेख छ । स्रोत : कान्तिपुर दैनिक, ०६७ मंसिर २, पेज न १ |