हैजाको स्रोत नेपाल भएको स्विडेनी राजदूतको आरोप |
|
|
Posted by Administrator
|
Friday, 19 November 2010 |
स्टकहोम : स्विडेनका एक कुटनीतिज्ञले हाइटीमा महामारीका रुपमा फैलिएको हैजाको स्रोत नेपाल नै भएको आरोप लगाएका छन् ।
ठिक एक महिनाअघि अर्थात गत अक्टोवर १९ मा पहिलोपटक देखिएको हैजाका कारण हाइटीमा एक हजारभन्दा बढी मानीसको मृत्यु भइसकेको छ । हैजाबाट अझै १६ हजार प्रभावित रहेको बताइएको छ । हाइटीमा हैजा फैलनुमा संयुक्त राष्ट्रसंघीय शान्तिसेना (मिनुस्टा) मुख्य दोषी रहेको भन्दै केप हायटियन, हिन्चे र मिलोटका बासिन्दाले विरोध प्रदर्शन जारी राखेका छन् । उक्त स्थानमा नेपाली शन्तिसेना रहेका छन् । मंगलबार शान्तिसेनाको शिविरमा भएको प्रदर्शन निन्त्रण गर्ने क्रममा सेनाको गोलीबाट हायटिकाा दुइ जना नागरिक मारिएका थिए । 'दर्भाग्य नै भन्नुपर्छ, हाइटीमा फैलिएको हैजा नेपालबाट आएको भन्ने कुरा प्रमाणीत भइसकेको छ' सेभेन्का डाग्ब्लाडेट दैनिकसँग कुरा गर्दै हाइटीका लागि स्विडेनी राजदुत क्लेस हयामरले भने । उनले आफूलाई कुटनीतिक स्रोतबाटै यस्तो सूचना आएको पनि बताए । 'यो शतप्रतिशत सही हो । परीक्षण भइसकेको छ र स्रोतले पनि नेपालतर्फनै देखाएको छ' राजदुत हयामरको दाबी थियो । उनी दुइ साताअघि मात्र हाइटीबाट फर्केका हुन् । यसअघि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले प्रतिवेदन प्रकाशित गर्दै हाइटीका हैजाका कीटाणु दक्षिणएसियाबाटै आएको दाबी गरेको थियो । केन्द्रले प्रतिवेदनमा दक्षिणएसियामा पाइएका हैजाका कीटाणु भिब्रिओ कोलेरा सेराग्रुप जिरो वानको सेरोटाइप ओगावाकै कारण हाइटीमा पनि महामारी फैलिएको पनि बताएको थियो । हाइटीका हैजा प्रभावितहरुमा गरेको पल्स्ड फिल्ड जेल इलेक्ट्रोफोरिसिस (पीएफजीइ) जाँचबाट यस्तो निष्कर्ष निकालिएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । अध्ययनले सन १९९० को दशकमा दक्षिण अमेरिकामा देखिएको हैजासँग यसको सम्बन्धको सम्भावना नरहेको जनाएको छ तर आर्टिबोनाइट नदीकिनारमा रहेको संयुक्त राष्ट्रसंघको शान्तिसेनाको कारण हैजा फैलिएको भन्ने आरोपबारे भने प्रतिवेदन मौन छ । शान्तिसेनाको उक्त एकाइमा नेपालका सेना छन् । आर्टिबोनाइट नदीकिनारमा वस्ने बासिन्दामध्ये धेरैमा हैजा देखिएको र रोगको कारण नेपाली सेना नै रहेको आरोप लाग्दै आएको बताइएको छ । राष्ट्रसंघले भने नेपाली शान्तिसेनाका कारण हैजा फैलिएको भन्ने आरोपको लगातार खण्डन गर्दै आएको छ । हाइटीका राष्ट्रपति रेने प्रिभलले पनि हैजाको कारण खोज्नुभन्दा संक्रमितको ज्यान बचाउनु अहिलेको प्रमुख आवश्यक्ता भएको बताएका छन् । स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ मंसिर ३, पेज नं ११ |