घरमुनि पानी टयाँकि बनाउदा होस गर्नुस |
|
|
Posted by Administrator
|
Thursday, 18 November 2010 |
काठमाडौं : अन्डरग्राउण्ड ट्यांकी सहितको घर बनाउदै हुनुहुन्छ भने धेरै पानी अटाउने लोभमा ठुलो टयाँकि बनाउने तिर नलाग्नुस्। यसले सम्पुर्ण संरचनालाई कमजोर गराउन सक्छ ।
काठमाडौंमा धेरै पानी अटाउन घरको फैलावट जस्तै टयाँकि बनाइएको घरमा समस्या देखिन थालेको छ । चार बर्ष पहिले काठमाडौंको हाँगडिगाउँमा घर बनाएका श्रीराम आचार्य ट्यांकीमा समस्या देखिएपछि अहिले पानी हाल्न छाडेको बताउँछन् । 'ट्यांकी निर्माणमा समस्या देखिएपछि घरवरीपरिको भागनै रसिलो देखिन थाल्यो ।' आचार्यले नागरिकसंग भने 'घरै कमजोर हुने डरले अहिले ट्यांकीमा पानी जम्मा गर्न छाडेर जग बाहिरको भागलाई मर्मत गरेर मजवुत बनाएको छु। 'विचार नपुर्याई अन्डरग्राउन्ड ट्यांकी बनाउँदा त्यो घर मात्र होइन, नजिकै जोडिएका अन्य घरहरुलाई समेत असर गर्न सक्छ।' काठमाडौं महानगरपालिका शहरी विकास विभागका इन्जिनियर उत्तरकुमार रेग्मी भन्छन् 'पानीको अभावका कारण धेरै दिनलाई सन्चित गर्न मिल्ने ठुला साइजका ट्यांकीहरुमा धेरै समस्या देखिन्छ।' उनका अनुसार वरपरका घरका जगहरुको सतह नमिल्दा जग भासिने समेत सम्भावना हुन्छ । रेग्मीका अनुसार ट्यांकी बनाइएको हुँदा पानी पर्खाल बाहिर निस्कन्छ र भुभागको माटोलाई समेत कमजोर बनाउँछ। 'जगभन्दा कम्तीमा दुई मिटर छाडेर गोलाई आकारको ट्यांकी बनायो भने खासै समस्या पर्दैन।' रेग्मीले भने 'त्यसैकारण त सयौं बर्ष पहिलेका इनारहरु हालसम्म पनि मजवुत छन्।' उनी ट्यांकी सहितको घर बनाउनेहरुका लागि सरकारले हालसम्म कुनै पनि मापदण्ड नतोकेको समेत बताउँछन्। उनका अनुसार ट्यांकीको गहिराई भन्दा घरको जग कम्तीमा पनि चार मिटर बढी हुनुपर्छ । खानी विभागका इन्जिनियर तथा भुगर्भविद् उत्तमबोल श्रेष्ठ यसरी बनाइएको ट्यांकीका कारण अन्य समयमा मात्र नभइ भुइचालो आएको समयमा समेत घर असुरक्षित हुने बताउँछन्। 'जग नजिकै ट्यांकी बनाउँदा भुइचालोको समयमा जग हल्लिएर पानी भएको ठाउँमा पर्छ अनि घर भत्कने सम्भावना हुन्छ।' श्रेष्ठ भन्छन् 'ठुलो क्षेत्रफल उपलव्ध भएको स्थानमा मात्र जगभन्दा धेरै ठाउँ छाडेर ट्यांकी बनाउनुपर्छ ।' श्रेष्ठका अनुसार अन्डरग्राउन्ड भित्र बन्ने ट्यांकी संरचनागत हिसावले मात्र नभएर अन्य जोखिम पनि यसमा बढी हुन्छ। 'अन्डरग्राउन्डमा कार्वनडाइ अक्साइड र कार्वनमनो अक्साइड जस्ता गह्रौं ग्याँसहरु तल हुने हुनाले अक्सिजन तल सम्म पुग्न सक्तैन ।' श्रेष्ठले भने 'अक्सिजननै नभएपछि कहिलेकाही मर्मत सम्भार र सफा गर्ने क्रममा मान्छे निसास्सिएर त्यहीं मर्न सक्छ ।' खानेपानीको समस्या बढदै गएपछि राजधानीका अधिकांश घरमा जोखिम युक्त ट्यांकी बनेपनि हालसम्म कुनै सरकारी मापदण्ड नभएको काठमाडौं उपत्यका नगर विकास समितीका प्रमुख डा. भाइकाजी तिवारी बताउँछन्। छिमेकीको सहमती लिनुपर्ने र ठुला हाउजीङ कोलोनीहरुले आसपासका घरहरुको विमा गरिदिनुपर्ने बाहेक अन्य नियमहरु बनेका छैनन् ।' तिवारीले भने 'धेरै ठुलो क्षमताको बनाउने लोभमा जगभन्दा धेरै भुभाग नछाडने हो भने घरलाई कमजोर गराउन सक्छ।' तिवारीले थपे 'व्यवस्थित तरिकाले सानो ट्यांकी बनाउने हो भने संरचनामा खासै फरक पर्दैन ।' उनले राजधानीमा थुप्रै यस्ता ट्यांकीहरु बन्ने क्रम दिन प्रतिदिन बढेकाले यस विषयमा अध्ययन हुनुपर्ने बताए । 'समय समयमा विभिन्न हल्ला चल्ने र बन्द हुनेहुनाले सर्वसाधारण दोधारमा हुन्छन् ।' तिवारीले भने 'त्यसैले अनुसन्धान भएर खास समस्याको पहिचान हुनुपर्छ ।' स्रोत : नागरिक दैनिक, ०६७ मंसिर २, पेज नं ४ |