फलामे पाइप तताएर पानी थाप्दै |
|
|
Posted by Administrator
|
Saturday, 20 November 2010 |
संखुवासभा : गुफापोखरीकी मित्रकला खनालको दैनिकीमा केही परिवर्तन आएको छ । सधैजसो उनी धारामा पानी थाप्न पाउन छोडेकी छन् । पाइपमै पानी जमेपछि धारामा पानी झर्दैन । त्यसैले उठनेवित्तिकै पहिले पानी उमाल्छिन र उम्लिएको पानी फलामे पाइपमा १५ मिनटसम्म लगाएर पाइप तातेपछि धारामा पानी थाप्छिन् ।
विहानदेखि साँझसम्म यसरी नै उनी २० गाग्रीसम्म पानी थाप्दै आएकी छिन् । चिसो बढेपछि यहाँको नुनढाकी मादीमुलखर्क, तामाफोक समेतका ३ हजारभन्दा बढी स्थानीय उज्यालो भएपछिको पहिलो काम नै तातो पानीले फलामे पाइप तताएर गाग्रामा थाप्नु हो । उमालेको पानीले धाराको फलामे पाइपमा निरन्तर लगाएर तताएपछि पाइपभित्र जमेको वरफ पग्लने र धाराबाट पानी खस्न थाल्छ । अधिक चिसोका कारण पाइपभित्रै पानी जमेपछि आफूहरुले यो विकल्प अपनाएको मित्रकलाले बताइन् । जिल्लाको उत्तरी क्षेत्रमा हिउँदमा पाइपबाट पानी झर्दैन । मूलबाट पोलिथिन पाइपमा ल्याएको पानी नजमी धारासम्म आइपुग्छ । धारामा फलामे पाइप राखिनाले त्यहाँ भने निरन्तर जम्ने गर्छ । त्यसैले जमेको पानीलाई पगाल्न तातोपानीले फलामे पाइपलाई तताउने गरेको मादीमुलखर्क ३ का विष्णु पाठक बताउँछन् । किमाथाका, चेपुवा, हटिया, पावाखेलासमेतका उत्तरी क्षेत्रमा कालो तुसारो पर्न थालेको छ । तुसारोसहितको चिसो बढेपछि घरघरमा ल्याएको पानी जम्न थालेको हो । मावादिन ८, लामपोखरीका बासिन्दा फागुन अन्त्यसम्म यसरी नै तातोपानीले पाइप तताएर धाराबाट पानी थाप्ने गरेको बताइन । उच्च क्षेत्रमा पानीको अभाव हुन्न । जंगलमा पर्याप्त जरुवा मुल हुनाले घरघरले पोलिथिन पाइपबाट घरसम्मै पानी तानेका हुन्छन् । सिमेन्टेड धारा जडान गर्दा फलामे पाइप प्रयोग गरिनाले पोलिथिन पाइपबाट आएको पानी त्यही (धारासम्म) आइपुगेर जम्ने गरेको स्थानीयको अनुभव छ । उच्च क्षेत्रमा हिमपात पनि सुरु भएको छ । हिउँ पग्लेपछि भने विहानमात्र पाइपमा पानी जम्ने नुनढाकीको गुफापोखरी प्राविधिक प्रअ हिमा खनालले कान्तिपुरसँग भनिन् 'यो हिउँद त हाम्रा लागि अति नै कठिन भएर आउने गरेको छ ।' मकालु हिमाल आरोहण मकालु वरुण राष्ट्रिय निकुञ्ज र ताप्लेजुङतर्फजाने नाकामा पर्यटकको हिउँदभर भीड लागिरहन्छ । स्रोत : कान्तिपुर दैनिक, ०६७ मंसिर ४, पेज नं ८ |