Posted by Administrator
|
Friday, 26 November 2010 |
काठमाडौ : डिल्लीबजार मैतिदेवीमा पानीको अभाव भइरहे पनि त्यस क्षेत्रमा चार महिनादेखि फुटेर नालीमा बग्दै गरेको खानेपानी पाइप मर्मत गरिएको छैन ।
पानीको मात्रा बढेको बेला नाला भरिएर छेउका घरमा समेत पस्ने गरेको स्थानीय बताउँछन् । पानीले पसलका सामान विगारेको बताउँदै स्थानीय ज्ञानेन्द्र खडगीले भने 'घरको जगै रसाएकाले भत्किने डर छ ।' पाइप मर्मत नहुनुमा काठमाडौ उपत्यका खानेपानी वितरण आयोजना (केयूकेएल) र ढल विभागले एक अर्कालाई दोष लगाइरहेका छन् । 'घरमा चार दिनमा एक पटक पानी आउँछ' स्थानीय राजु महर्जनले भने 'यहाँ चौवीसै घन्टा पानी खेर गइरहेको छ ।' केयूकेएल बानेश्वर शाखाका प्रमुख उद्धव केसी भने दुइ हप्ताअगाडि मात्र थाहा पाएको बताउँछन् । बुधवार उक्त स्थलमै भेटिएका केसीले पनि ढलकै कारण पानी 'लिक' भएको आशंका गरे । 'पुरानो ढल भएकाले भासिएर बन्द हुँदा पानी टालियो होला' उनले भने 'सडक विभागले पनि फुटेको ढलमाथि त्यसै पुरेर पिच गरिदियो झन बढी समस्या आयो' यसैबीच नालीमा बग्दै गरेको खानेपानीलाई स्थानीयले सवारी साधन धुन, आगो लाग्दा निभाउन र सडकमा धुलो उडन नदिन प्रयोग गरिरहेका छन् । स्रोत : नागरिक दैनिक, ०६७ मंसिर १०, पेज नं. ४ |