खोटाङ : खोटाङको सदरमुकाम दिक्तेललगायतका आसपासका गाविसमा पानीका मुहान सुक्न थालेका छन् । तीव्र रूपमा भइरहेको वन विनास र जलवायु परिवर्तनले मुहान सुकेको हो । रुपाकोट जङ्गल लगायतका आसपासका बाम्राङ, जालपा, हौचुर, खार्मी, पाथेका लगायतका गाविसको जङ्गल निरन्तर विनास भइरहेपछि पानीको मुहान सुक्दै गएको हो ।
रुपाकोट आसपासका रुपाढ्याबु, लोचालङ्खुरी, कागजथला, ट्याम्के लगायतका जङ्गल निर्खदो छ । रुपाकोटबाट बग्ने लोचा, लुम्जु, देखमी, भालु, छेपोलगायतका खोला सुक्न थालेका छन् । स्थानीयका अनुसार यस क्षेत्रमा ४० प्रतिशत पानीका मुहान सुकेका छन् । नेपाली सेनाका लागि दाउरा र स्थानीय उपभोक्ताले घाँसदाउरा निकासीका कारण जङ्गल मासिने क्रम बढेको हो । स्थानीय उपभोक्ताले भने सेनाका लागि दाउरा निकासी नै विनासको मूल कारण भएको जनाएका छन् । सेनाका लागि दाउरा निकासी तत्काल रोक्नुपर्ने उनीहरूले जनाएका छन् । वन विनाससागै यस क्षेत्रका जडीबुटी पनि विनास हुँदै गएको छ । यस क्षेत्रमा पाइने लौटसल्ला, पाँचऔंले, चिराइतो लगायतका थुप्रै जडीबुटी तथा जैविक विविधता लोप हुने अवस्थामा पुगेको छ । त्यस्तै, वन्यजन्तु पनि मासिने क्रम बढेको छ । वन्यजन्तु मास्नमा सामुदायिक वन समूहका सदस्य नै अग्रसर रहेको स्थानीयवासीले गुनासो गरेका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन । रुपाकोट पर्यटकीय क्षेत्र बनाउन लायक ठाउँ भएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यक छ । यस क्षेत्रलाई आरक्षण क्षेत्र र आसपासका जङ्गललाई निषेधित क्षेत्र घोषणा गर्नुपर्ने स्थानीयको माग छ । यस्तै ढङ्गले जङ्गल मासिए जिल्ला सदरमुकाम दिक्तेल, नेर्पा, ल्याङ, खाल्ले, बाम्राङ, जालपा, हौचुर, खार्मी, पाथेका, हलेसी, अर्खौले, नुनथला लगायतका गाविसमा पानीको मुहान सुक्ने स्थानीयको भनाइ छ । यसप्रति सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । स्रोत : गोर्खापत्र दैनिक, ०६७ मंसिर ११, पेज नं १२ |