Posted by Administrator
|
Saturday, 27 November 2010 |
काठमाडौ : मह सञ्चारद्वारा निर्मित टेलिचलचित्र 'ढलमती' को शुक्रवार राजधानीमा प्रथम प्रदर्शन गरिएको छ । सहरीक्षेत्रमा बढदै गएको नदी प्रदूषणको कारण वातावरण र जनस्वास्थ्यमा परेको नकारात्मक असर ध्यानमा राखी ढलको फोहोर पानी व्यवस्थापन तथा सेफ्टीटयाँकी प्रयोगको महत्वसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त टेलिचलचित्र निर्माण गरिएको जानकारी कार्यक्रममा दिइयो ।
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको निर्देशन र अभिनयमा तयार पारिएको 'ढलमती' अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष र यूएन हृयाविटाटको सहयोगमा गुथी र वातावरण तथा जनस्वास्थ्य संस्थाको सहकार्यमा निर्माण गरिएको हो । उक्त टेलिचलचित्र नेपाल टेलिभिजनबाट मंगलबार साँझ प्रसारण हुनेछ । उपप्रधानमन्त्री र भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले ढलमती प्रदर्शनले जनचेतना जगाउने विश्वास व्यक्त गरे । उनले भने 'राजधानीमा जनसंख्या थपिँदो छ तर ढल, खानेपानी जस्ता समस्या बढदो छ, धेरैले धेरै किसिमका संकट भोग्नुपरेको छ त्यसमध्ये ढल एउटा हो ।' अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख महेशबहादुर वस्नेतले बागमती नदी सफा बनाउने कार्ययोजना सम्पन्न भएको जानकारी दिदै चाँडै नदी सफा बन्ने अपेक्षा गरे । स्रोत : अन्नपूर्ण पोष्ट, ०६७ मंसिर ११, पेज नं. ५ |