|
आर्सेनिकयुक्त खानेपानीको प्रयोग बढदो |
|
|
|
Posted by Administrator
|
|
Saturday, 22 January 2011 |
|
कृष्णनगर : कपिलवस्तुके महेन्द्रकोट गाविसका हजारौ जनताले स्वच्छ खानेपानीको स्रोत नपाएपछि आर्सेनिकयुक्त अशुद्ध पानी पिउन वाध्य भएका छन् । सो गाविसमा खानेपानीको आर्सेनिक जाँच गर्दा मापदण्डभन्दा बढी आर्सनिक फेला परेको थियो । राष्ट्रिय खानेपानी मापदण्ड २०६२ अनुसार ५० पि.पि.वि भन्दा धेरै आर्सेनिक भएको पानीलाई रासायनिक प्रदूषण भएको मानिन्छ । तर चापाकलको आर्सेनिक जाचमा २५० पिपिएसम्म आर्सेनिक फेला परेको थियो ।
समस्या समाधानका लागि केही वडामा टयुववेल जडान गरी स्वच्छ खानेपानी वितरण गरेपछि वडा नं. १ फचकैया वडा नं. २ वसन्पतुर, वडा नं. ३ र ४ भेलाई र वडा नं. ५ टिक्करमा अन्य विकल्प नभएको हुँदा जनताले आर्सेनिकयुक्त पानीको प्रयोग गर्नु परेको छ जसका कारण अझसम्म पनि करिब एक हजार पाँच सय घरपरिवारले वर्षौदेखि आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । गत महिना शुद्ध पानीका लागि ५० थान वायो स्यान्ड फिल्टर निःशुल्क वितरण गरिएको छ तर फिल्टर पर्याप्त मात्रामा नुहँदा करिब डेढ हजार परिवारले अझसम्म पनि अशुद्ध पानी पिउने गरेका छन् । जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय कपिलवस्तुको सहयोगमा निःशुल्क फिल्टर वितरण गरेको गाविस सचिव गोविन्द पन्थीले बताउनुभयो । वायो स्यान्ड फिल्टरमा प्रयोग गरिने फलामको काँटीको खिया लागेको भागमा आर्सनिेक टाँसिएर पानी शुद्ध हुने गर्दछ । आर्सेनिकयूक्त पानी पिउँदा मानव स्वास्थ्यमा छाला, मिर्गौला, कलेजो, मुत्रथैली आदिको क्यान्सर लगायतका असर हुने गर्दछ । तत्काल शुद्ध पानीको बैकल्पिक स्रोत उपलब्ध गराउन सकेमा मात्र मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नबाट बचाउन सक्ने बताइएको छ । खानेपानी तथा ढल निकास विभाग र युनिसेफले तराईको ११ जिल्लाको टयुववेलमा आर्सेनिक परीक्षण अनुसार २.४ प्रतिशतमा ५० पिपिएभन्दा बढी आर्सेनिक फेला परेको तथ्याङ्क छ । स्रोत : गोरखापत्र दैनिक, ०६७ माघ ८, पेज नं. १३ |