कास्कीका ४३ गाविस खुला दिसामुक्त |
|
|
Posted by Administrator
|
Thursday, 14 April 2011 |
पोखरा : कास्कीका ४३ वटै गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । बुधबार ३ गाविसलाई खुलादिसामुक्त क्षेत्र घोषणा गरी ४३ पुर्याइएको छ । बुधबार लुम्रे घान्द्रुक र थुम्की गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । कास्की जिविसका योजना अधिकृत जीवन ज्ञवालीले कास्कीका ४३ वटै गाविसलाई खुला दिसामुक्त क्षेत्र बनाइएको बताए ।
पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाबाहेक जिल्लाका ४३ वटै गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेका छौं, ज्ञवालीले भने, केही दिनभित्र नगरपालिकालाई पनि खुला दिसामुक्त क्षेत्र बनाउँछौं । नगरपालिकाका केही वडाका घरमा शौचालय बनाउन बाँकी रहेकाले घोषणा गर्न ढिलाइ भएको उनले बताए । नगरपालिकाका कतिपय वडाका घरमा बसोबास नरहेको तथा सुकुम्बासी बस्ती भएका ठाउँका केही घरमा शौचालय बनाउन बाँकी रहेकोले ढिलाइ भएको ज्ञवालीले जानकारी दिए । बसोबास नरहेका रिता घरमा घरमुली खोजेर भए पनि शौचालय बनाउन लगाउँछौं, उनले भने । स्रोत : नागरिक दैनिक ०६८ बैशाख १, पेज नं ११ |