Posted by Administrator
|
Sunday, 15 May 2011 |
भक्तपुर : मल्लकालदेखि तलेजु भवानीका पूजाअर्चनाका लागि प्रयोग गरिने झौखेलको तलेजु धारा संरक्षण हुन सकेको छैन ।
झौखेल ६ मा रहेको ऐतिहासिक र पुरातात्विक महत्वको धारा संरक्षण गर्न कसैले चासो नदेखाएको स्थानीयको गुनासो छ । चारवटा धारा रहेको यो ठाउँ अहिले सुख्खा छ । पहिला पोखरी भएको ठाउँमा घाँस उम्रेको छ । इँटाको टुक्रा फ्याँकिएको छ । भक्तपुर नगरमा रहेको हपले गठी (मूल गुठी) का १५ घरधुरीले यस धाराबाट दसैको महाअष्टमीका दिन जल लगेर तलेजु भवानीकवो पूजाअर्चना गर्ने परम्परा छ । मल्लकालमा कोल्पाकोटका राजाले भक्तपुरका राजालाई पानी लिएर जान दिन इन्कार गर्दा भक्तपुरका राजाले पानी खाएको जस्तो गरी बाहुलाभरि पानी भिजार्य तलेजुलाई चढाएका थिए । त्यसपछि यहाँको पानी तलेजु भवानीलाई चढाउन थालेको किंवदन्ती छ । अर्को प्रचलित किंवदन्तीमा तलेजु भवानीलाई भोग दिनका निम्ति राखेको बोका नपसिएपछि यहाँको ढुंगेधाराको पानी लगी हाल्दा तुरुन्तै पसिएकाले तलेजु भवानीलाई चढाउन थालेको मानिन्छ । तलेजु धाराबाट लगेको पानीले भात पकाउन खोज्दा नपाकेको कथन पनि छ । स्रोत : कान्तिपुर दैनिक, ०६८ जेष्ठ १, पेज नं. ४ |