राजधानीमा झाडापखाला र हैजा फैलियो / सरुवा रोग अस्पताल बिरामीले खचाखच |
|
|
Posted by Administrator
|
Monday, 16 May 2011 |
काठमाडौं : काठमाडौंमा फैलिएको झाडापखाला र हैजाका कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल बिरामीले खचाखच भरिएको छ ।
बेमौसमी वर्षात तथा शहरमा थुप्रिएको फोहोरले फैलिएको जीवाणुबाट दुइ सातादेखि काठमाडौंमा अप्रत्याशित रूपमा झाडापखाला र हैजा फैलिएको हो। टेकु अस्पतालमा आइतबार बिरामीको चाप बढ्नाले आकस्मिक कक्षमा बिरामी राख्ने ठाउँको समेत अभाव भएको अस्पतालस्रोतले जानकारी दियो । दुइ सातादेखि दैनिक २० देखि २५ को संख्यामा झाडापखालाका बिरामी आउने गरेको टेकु अस्पतालका डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो। डा. पाण्डेका अनुसार अहिलेसम्म अस्पतालमा काठमाडौंका कलंकी, सीतापाइला र कीर्तिपुर क्षेत्रका बिरामीको चाप बढेको छ । प्रत्येक वर्ष वर्षासँगै झाडापखाला शुरू हुने गरेको छ । यसपालि चाँडै वर्षा शुरू भएकाले अहिले नै बिरामी पनि वृद्धि भएको डा. पाण्डे बताउनुहुन्छ। झाडापखालाको प्रमुख कारण खानेपानी र शहरमा थुप्रिएको फोहोर नै भएको उहाँको कथन छ । वर्षातसँगै खानेपानीका धारा, कुवा र पँधेरामा दूषित फोहोर तथा जीवाणु प्रवेश गर्ने र सोही पानी नउमाली खाने गर्नाले झाडापखाला फैलिएको चिकित्सकहरू बताउँछन्। डा. पाण्डे भन्नुहुन्छ- शहरबजारमा खुला रूपमा बेचबिखन गरिने चनाचटपटे, पानीपुरीलगायत खानेकुरा नै झाडापखाला र हैजाका कीटाणु भित्र्याउने माध्यम हुन् ।’ काठमाडौंमा वर्षातसँगै झाडापखाला फैलिएपछि टेकु अस्पतालले सोमबारदेखि चितवन र बुटवलका चिकित्सकलाई २/२ दिनको आकस्मिक उपचारसम्बन्धी तालिम दिने भएको छ। त्यसका लागि अस्पतालको टोली सोमबार नै चितवन जान लागेको डा. पाण्डेले बताउनुभयो । यता कान्ति बाल अस्पतालमा पनि फाटफुट रूपमा झाडापखालाका बिरामी आउन थालेको बुझिएको छ । स्रोत : नेपाल समाचारपत्र दैनिक, ०६८ जेष्ठ २, पेज न ४ |