|
Posted by Administrator
|
|
Wednesday, 18 May 2011 |
|
काठमाडौं : काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति गर्ने ट्यांकर व्यवसायीमध्ये अधिकांशले मातातीर्थ गाविसबाट पानी ओसार्छन् ।
प्रशस्त स्रोत भएको ४, ५ र ६ वडामा पानी बेचेरै केही व्यवसायीले लाखौं आम्दानी गरेका छन् । तर, बेंसीमा घरैपिच्छे इनार खनेर पानी निकाल्न थालेपछि डाँडाका बस्तीमा भने खानेपानी अभाव बढ्दै छ । बेंसीमा पानीको व्यापार बढेपछि धारापानी मूल केही वर्षयता घटेको स्थानीय नारायण सेढाईंले बताए । 'बस्ती बढ्यो, मूल घट्दै गयो' उनले भने, 'धारामात्रै बाँकी छन्, पानी आउँदैन ।' बस्ती बढ्दै गएको बेंसीका घरघरमा इनार खनेर पानी व्यवसाय थालेपछि डाँडापाखाका मुहान सुक्न थालेका गाउँलेहरूको भनाइ छ । १० मिनेट पानी आउने धाराबाट १५ परिवारले गुजारा गर्नुपरेको स्थानीय पाका सूर्यबहादुर बानियाँले बताए । खानेपानीको चरम अभाव भोगेका मातातीर्थका २ र ३ वडामध्ये, ३ वडाबाट बस्ती उठिसकेको छ । ब्यारेक राख्न सशस्त्र प्रहरीले जग्गा किन्दा पानी अभाव हुने गाउँमा कसैले नाइनास्ती गरेनन् । अहिले ३ वडाभरि सशस्त्रको ब्यारेक छ, यहाँ सशस्त्र प्रहरीले नै डिप बोरिङ गरेर पानी पुर्याएको छ । पानी अभाव हुने बस्तीमै अरू तीनवटा बोरिङ छन्, दुई आवासीय विद्यालयले सञ्चालन गरेका र एउटा स्थानीयका लागि । 'साह्रै अभाव भएपछि बोरिङ गरेर पानी निकाल्ने काम भइरहेको छ,' सेढाइंले भने । मातातीर्थकै बेंसीमा पर्ने ४, ५ र ६ वडामा मात्रै एक दर्जनभन्दा बढी पानी उद्योग छन् । आफ्नो जग्गामा मुहान हुने गाउँलेहरूले खानेपानी बेच्ने गरेका छन् । ट्यांकर व्यवसायी र मिनरल वाटर उद्योगले उनीहरूबाट पानी किनेर बेच्ने गर्छन् । डाँडामा खानेपानीको अभाव भएपछि गाविसले गत वर्ष गाउँ परिषद्बाटै व्यावसायिक डिप बोरिङमा प्रतिबन्ध र ३० फिटभन्दा बढी गहिरो इनार खन्नसमेत निषेध गरेको छ । गाविसले प्रतिबन्ध लगाए पनि बेंसीमा पानी व्यापार रोकिएको छैन । केहीले बढी पानी संकलन गर्न तीन-चारवटा इनार एकै ठाउँमा जोडेर खनेका छन् । आफ्नो जग्गामा मुहान पर्ने व्यक्तिले ट्यांकी निर्माण गरेर ट्यांकरलाई पानी बेच्ने गरेको पानी व्यवसायी राजेन्द्र रिजालले बताए । 'मुहानबाट रातभरि पानी संकलन हुन्छ' उनले भने, 'पम्प लगाएर ट्यांकरमा भरिदिन्छौं ।' व्यवसायीले ६ हजार लिटर क्षमताका ट्यांकरलाई २ सय र १२ हजारसम्मका लागि ४ सय रुपैयाँ दर तोकेका छन् । ट्यांकरले दूरी अनुसार उपभोक्तबाट ६ हजारसम्मको ८ सयदेखि १६ सय र १२ हजार लिटरको २ हजार-२२ सयसम्म लिन्छन् । आफ्नो जग्गाबाट पानी निकाली बेच्नेमध्ये केहीले ऋण लिएर ५०/६० हजार लिटर क्षमताको ट्यांकी समेत निर्माण गरेका छन् । मातातीर्थका पूर्वगाविस अध्यक्ष जनक रिजाल गाउँमा 'खानेपानी व्यापारी' बढ्दै गएको भन्दै असन्तुष्ट छन् । डिप बोरिङ प्रतिबन्ध लगाउने गाउँ परिषद्को निर्णय कार्यान्वयन हुन नसकेको उनको गुनासो छ । 'सार्वजनिक कुवा र मुहान वरपर खाल्डो खनेर खानेपानी व्यापारीकरण गरेका छन्' उनले भने, 'अनुगमन नहुँदा पानी चोरेर बेच्ने गिरोह फैलियो ।' गाविसले कुवा खनेर पानी निकाल्नेसँग वाषिर्क दस हजार शुल्क लिए पनि ट्यांकरले सडक भत्काउँदा लाखौंको नोक्सानी भएको उनको गुनासो छ । गाउँभरिको स्रोत संरक्षण गरेर एकीकृत खानेपानी परियोजना सञ्चालनको तयारी गरेको गाविसले जनाएको छ । स्रोत : कान्तिपुर दैनिक, ०६८ जेष्ठ ४, पेज न ४ |