५३ नगरपालिकामा ल्यान्डफिल साइट छैन |
|
|
Posted by Administrator
|
Friday, 20 May 2011 |
काठमाडौ : देशका ५८ नगरपालिकामध्ये ५३ वटा व्यवस्थित ल्यान्डफिल साइट नभएको स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
फोहोर व्यवस्थापन गर्ने ठाउँ नभएपछि ती नगरपालिकाले नदी, सार्वजनिक जग्गा र खोचहरुमा फोहोर फाल्दै आएका छन् । मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, पोखरा, घोराही र धनकुटामा मात्र व्यवस्थित ल्यान्डफिल साइट छन् । 'तुलनात्मक हिसावले यी पाँच नगरमा मात्र राम्रो ल्यान्डफिल साइटको व्यवस्था छ' मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले नागरिकसँग भने 'व्यवस्थित भनिएको काठमाडौमै त बेलाबेला समस्या आउँछ भने अरुमा त झनै नराम्रो अवस्था छ ।' उनका अनुसार पर्याप्त बजेट नभए नगरपालिका आफैले फोहोर व्यवस्थापन गर्दै आइरहेका छन् । व्यवस्थित ल्यान्डफिल साइट नभएका झन्डै दुइ दर्जन नगरपालिकाले नदीमा फोहोर खसाल्दै आएका छन् । 'थुप्रै नगरपालिकाले नदीमा फोहोर खसाल्ने गरेको पाइयो' फोहोरमैला व्यवस्थापन तथा स्रोत परीचालन केन्द्रकी प्रमुख सुमित्रा अमात्यले भनिन् 'सबै ठाउँमा ल्यान्डफिल्ड साइट बनाउन सरकारसँग बजेट छैन । नगरपालिकाहरुले आफ्नै हिसावले फोहोर व्यवस्थापन गर्दै आएका छन् । कतै नदी संरक्षणको नाममा करोडौको रकम खर्चिए पनि आफूहरुले भने आर्थिक अभावका कारण ल्यान्डफिल साइट बनाउन नसक्दा खेलामै फोहोर फाल्नु बाध्यता भएको ती नगरपालिका बताउँछन् । कालीगण्डकी नदीमा फोहोर फाल्दै आएको बाग्लुङ नगरपालिकालाई नदीमा फोहोर फाल्दा प्रदूषित हुने र जलचर प्राणीलाई समेत समस्या भएको भन्दै ०६४ सालमा पुनरावेदन अदालतले ल्यान्डफिल साइट व्यवस्था गर्न निर्देशन दिएको थियो । तर अहिलेसम्म त्यसको टुँगो लागेको छैन । अन्य विकल्प नभएकाले नदीमा फोहोर खसाल्नु परिरहेको नगरपालिकाका कार्यकारी अधिकृत मुकुन्द शर्मा बताउँछन् । 'साइटको व्यवस्था गर्न एक करोड ४८ लाख रुपैयाँ लागत आवश्यक भएकाले दाताको खोजी भइरहेको छ' शर्माले भने 'जग्गा किनिसकिएको छ दाता पाएपछि व्यवस्थापनको काम हुन्छ ।' बाग्लुङ बजार प्रवेश गर्ने नाका मै नदीमा फोहोर खसालिँदा आसपास गर्ने सर्वसाधारणले सास्ती खेप्दै आइरहेका छन् । फोहोरमैला व्यवस्थापन केन्द्रकी प्रमुख अमात्यका अनुसार अहिले झन्डै आधा दर्जन नगरपालिकामा मन्त्रालयले ल्यान्डफिल साइट निर्माणको काम भइरहेको छ । यस वर्षदाता खोजेर दर्जन जति नगरपालिकामा ल्यान्डफिल्ड साइट व्यवस्थापन गर्ने उनले बताए । स्रोत : नागरिक दैनिक, ०६८ जेष्ठ ६, पेज नं. ४ |