पानीको अभाव भएपछि गाउँ छोडदै
Posted by Administrator   
Friday, 19 November 2010

मन्थली : कठजोरको दक्षिणी क्षेत्रमा पर्ने दुलीमदौ र पुरानागाउँका बासिन्दा खानेपानीको अभाव भएपछि बसाइँ सर्ने भएका छन् । यस वर्ष पानी नपरेकाले ती दुवै ठाउँमा खानेपानीको संकट छ ।

पर्याप्त वर्षनहुँदा खानेपानी मुल सुकेपछि स्थानीय वासिन्दा अहिलेसम्मकै खानेपानीको अभाव बेर्होदै आएका छन् । अहिले पनि गाउँलेहरु पानीको पालो कुर्न जंगलको पँधेरामा रात विताउन बाध्य छन् । 'यो महिनासम्म जेनतेन धानीएला' स्थानीय ठडेन्द्र बहादुर थापाले भने 'पानी नभएपछि गाउँ छोडेर हिँडने योजना बनाएका छौ । कतिपय परिवार खानेपानी नपाएपछि बेसीमा सरिसकेका छन् ।' पुरानागाउँको वस्ती नै खाली हुने भएको उनले बताए । पुरानागाउँमा पानीको धारा छन तर पानी छैन । धारामा आउने पानीको मुहान सुकेपछि पुरानागाउँका गृहिणीहरु गाग्री लिएर डाँडापारिको कठजोरमा पानी माग्न जान थालेका छन् । कठजोरमा समेत गत वर्ष जस्तो पानी पर्याप्त छैन । 'अरुको गाउँमा माग्न जान पनि लाज भइसक्यो' स्थानीय सावित्री वस्नेतले भनिन् । 'आजअघि यस्तो समस्या कुनै वर्षपनि भएको थिएन' ठुलीमदौका मोहनबहादुर थापाले भने । करिब १ सय परिवार बसोबास रहेको यहाँको वासिन्दा रणजेर खोलासम्म पुगेर पानी ल्याउन थालेका छन् । ती ठाउँबाट पानी ल्याउन पुरै आधा दिन लाग्छ । स्थानीय रालटार, भदौरे, गैडाटोल, माझटोल, थापागाउँ, हाडीस्वरा लगायतको स्थानमा स्थानीयलाई खानेपानीको सास्ती छ ।
ठूलोगाउँको एउटै पँधेरामा आजभोलि पानी कुर्नकालागि महिलाभन्दा पुरुष धेरै भेटिन्छन् । जंगलछेउको खोलामा रहेको पँधेरामा रातभर गुन्द्री हालेर पानी कुर्न पनि पुरुष नै अघि सर्नुपरेको छ । दिउँसो अरु काममा व्यस्त हुने गाउँलेहरु रातभर जाग्राम बसेर पानी कुर्नुपर्दा हैरान भएको गुनासो गर्छन । 'यसरी कति दिन विताउनु ? ऐलानीमा भए पनि पानीनजिकै छाप्रो बनाएर बस्ने सल्लाह हुँदैछ' स्थानीय भीमबहादुर खत्रीले भने । केही वर्षअघि पानीको समस्या टार्नकै लागि नजिकैको सानीमदौका वासिन्दा बेसीमा सरेका थिए । गाउँमा धेरै जग्गाजमिन भए पनि पानी नहुँदा बेसी सर्नु सानीमदौका वासिन्दा बाध्य भएका थिए । गाउँले पानीको सुविधाको लागि बेसी सरेपछि अहीले सानीमदौ उजाड बनेको छ । बेसीमा जग्गा जमिन नहुने केही परिवार घन्टौ लागएर बोकेको पानी खाएर गाउँमा नै बस्न बाध्य छन् । बेसीमा जिल्ला सदरमुकाम वासीले प्रयोग गर्दै आएको योजनाबाट पानी वितरणको व्यवस्था गरिएको छ । ठूलीमदौ, पुरानागाउँ र सानीमदौ मात्र होइन दक्षिणी रामेछापको अधिकाँश गाउँमा खानेपानीको अभाव उस्तै छ । दक्षिणी क्षेत्रमा पर्ने करिब २० गाविसमा पर्याप्त वर्षानभएपछि पानीको संकट छ । जिल्ला सदरमुकाम मन्थलीमा वितरणको लागि ल्याएका तीनवटा सतही मुलमा पानी सुकेपछि खानेपानीको नियमित आपूर्तिमा समस्या पर्दै आएको मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक जगदीश सुवेदीले बताएका छन् । उनका अनुसार मन्थलीमा हाल तामाकोसी किनारको पानी विद्युत मोटरबाट तानेर वितरण गर्ने प्रबन्ध गरिएको छ ।
स्रोत : कान्तिपुर दैनिक, ०६७ मंसिर ३, पेज नं. १७