हात धोऔँ
Posted by Administrator   
Thursday, 18 November 2010

सबैका लागि खानेपानी र सरसफाइ भन्ने नाराका साथ यो वर्षको हात धुने दिवस नेपालमा पनि मनाइयो । विश्वभर अक्टोबर १५ मा यो दिवस मनाइने भए पनि नेपालमा त्यसको एक महिनापछाडि अर्थात् नोभेम्बर १५ मा यो दिवस मनाउने गरिएको छ।

व्यक्तिगत सरसफाइमा कमीका कारण लाग्ने विभिन्न रोगबाट बस्रेनि धेरै मानिसले ज्यान गुमाइरहेको अवस्थामा रोगबाट बच्नको लागि दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम भएका छन्। दूषित खाना र पानी तथा व्यक्तिगत सरसफाइको कमीका कारण लाग्ने विभिन्न सरुवा रोग विश्वमै बालमृत्युको कारण बनिरहेको छ। अझ गरीब तथा विकासोन्मुख देशमा स्वच्छ खानेपानी र सरसफाइको अवस्था निकै दयनीय छ। नेपालकै कुरा गर्ने हो भनेपनि सयमा ५२ जना मानिसले खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार शहरी भेगका सयमा १५ जना र ग्रामिण भेगका सयमा ६० जना मानिस चर्पीको पहुँच बाहिर छन् । अर्को तथ्यांकले नेपालमा सयमा ३७ जनाले मात्र सफा पानीले हात धुने गरेको र त्यसमध्ये साबुन पानीले हात धुनेको संख्या १२ प्रतिशत मात्र रहेको देखाएको छ। खाना खानु र पकाउनुअघि तथा दिशा धोइसकेपछि साबुनपानीले हात धोएमा झाडापखाला हैजा आउँजस्ता रोगको संक्रमण आधाले घटाउन सकिने र नियमित व्यक्तिगत सरसफाइमा ध्यान दिएमा आँखा छाला तथा अरु कैयन् असाध्य रोगको खतरासमेत कम हुने विज्ञहरुले बताउँदै आएका छन् ।
बाहिरी वातावरणमा फैलिएका विभिन्न जीवाणुको संक्रमणबाट सर्ने रोगब्याधबाट जोगिन हात धुनु वा व्यक्तिगत सरसफाइमा ध्यान दिनु एउटा पाटो हो तर स्वस्थ जीवनयापनका लागि समाज र वातावरण स्वच्छ हुनु आवश्यक छ। व्यक्ति स्वस्थ र निरोगी भएमा समाज स्वस्थ हुन्छ। स्वस्थ समाज वा स्वस्थ जनशक्ति विकासको पूर्वाधार हो। दूषित खाना पानी तथा अस्वस्थकर वातावरण र जीवनयापनका कारण लाग्ने विभिन्न रोगव्याधीका कारण जुन धनजनको क्षति हुन्छ त्यो आधुनिक विश्वमा समेत विकासको मुख्य बाधक बन्दै आएको छ। नेपालमा दूषित पानीको तथा अस्वस्थकर जीवनयापनको कारण लाग्ने झाडापखालालगायतका रोगबाट बस्रेनि १४ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्यांक छ। रोगबाट हुने मानवीय क्षतिको सवाल एकातिर छ रोगको उपचारमा भैरहेको खर्च पनि अत्यधिक रहँदै आएको छ। राष्ट्रसंघले तय गरेको सहस्राब्दी लक्ष्य अन्तरगत बाल तथा मातृमृत्युदरमा उल्लेखनीय कमी ल्याएर नेपालले हालै पुरस्कारसमेत पाएको छ। तर प्रसूतिजन्य मृत्युमा कमी आए पनि अरु स्वास्थ्य समस्याबाट हुने अकाल मृत्यु र क्षतिमा उतिसारो प्रगति हात पार्न सकिएको छैन। विश्वमा अहिले पनि झन्डै १ अर्ब ११ करोड मानिसले खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन्। देशमा बढी नागरिक चर्पीको पहुँचबाहिर रहेका ११ वटा मुख्य देशमध्ये नेपाल पनि एक हो। नेपालमा धेरै नागरिकमा चर्पीको पहुँच नपुग्नुमा जनचेतनाको अभाव र गरिबी दुवै कारण मुख्य छन्। एकातर्फ अशिक्षाको कारण फोहोरमैलाले कस्ता समस्या निम्त्याउँछ भन्ने चेतनाको अभाव छ अर्को तर्फ व्यवस्थित र सुरक्षित चर्पी बनाउने हैसियत धेरै परिवारको छैन। यसलाई हेर्दा गरिबी प्रदूषण र रोगव्याधी एक अर्काका परिपूरकजस्तै भएर देखा परेका छन्। स्वच्छ खानेपानी र सरसफाइको कमी विश्वमा बालमृत्युको मुख्य कारण बन्ने गरेको छ ।
बढ्दो जनसंख्या तथा ऊष्णीकरणका कारण पानीका स्रोतहरुको विनास र प्रदूषण हुँदै जाँदा मानिसहरुको स्वच्छ पानीमाथिको पहुँच गुम्दै गएको विज्ञहरुले बताउँदै आएका छन्। नेपाल पनि यो यथार्थबाट अछुतो रहन सकेको छैन। पानीको धनी देश भनिए पनि अझै पनि एक तिहाइ मानिस खानेपानीको पहुँचबाट टाढा छन्। यसअघिको अन्तरिम योजनाले ८५ प्रतिशत जनतालाई खानेपानीको सुविधा पुर्याउने लक्ष्य लिएको भए पनि अहिले केवल ७६।६ प्रतिशत जनताले मात्र सो सुविधा पाएका छन्। त्यसमध्ये केवल ५४ प्रतिशतले धाराको पानी उपयोग गर्न पाएका छन् भने बाँकीले कुवा ट्युवेल तथा इनारलगायतको पानीमा निर्भर रहनुपरेको छ। तर वितरित पानीमध्ये केवल १० प्रतिशत मात्र मापदण्डअनुरुप भएको बताइन्छ। यसबाट हामीले स्वच्छ भनेर उपयोग गरिरहेको पानी पनि हानिकारक रहेको प्रस्ट हुन्छ। पानीका स्रोतको अत्यधिक दोहन अव्यवस्थित शहरीकरण तथा औद्योगिकीकण र व्यवस्थित आवासको कमीले गर्दा जीवनयापन अस्वस्थकर र संकटग्रस्त बन्दै छ। जलप्रदूषणका कारण हुने मानवीय क्षति तथा रोगव्याधी नियन्त्रणमा हुने आर्थिक लगानीका कारण गरीब देशहरुमा आर्थिक वृद्धि झनै सुस्त बन्ने विज्ञहरुको भनाइ विभिन्न गरीब देशमा बारम्बार फैलिरहने महामारीले पुष्टि गर्छ ।
सरकारले सन् २०१७ सम्ममा सबैलाई आधारभूत सरसफाइ र खानेपानीको पहुँच पुर्याउने लक्ष्य लिएको छ। तर अहिलेको अवस्थालाई हेर्दा त्यो पूरा हुने अवस्था देखिँदैन। संयुक्त राष्ट्रसंघले सन् २०१५ भित्र खानेपानी र सरसफाइ पुर्याउने सहस्राब्दी विकास लक्ष्यको योजना विश्वका विकासोन्मुख देशमा पूरा हुने अवस्था नरहेको हालै जनाएको छ। नागरिकलाई सरसफाइको पहुँच वृद्धिमा विकासोन्मुख देशले अग्रसरता नदेखाएमा फोहोरमा बाँच्नुपर्ने मानिसहरुको संख्या घट्नुको साटो अझै बढ्ने देखिएको छ। राष्टसंघकै तथ्यांकलाई हेर्ने हो भनेपनि सन् २००८ मा विश्वका २ अर्ब ६० करोड मानिस आधारभूत सरसफाइबाट वंचित रहेकोमा सन् २०१५ मा २ अर्ब ७० करोड पुग्नेछ। विश्वका झन्डै ३९ प्रतिशत जनसंख्या अहिले आधारभूत सरसफाइबाट वंचित छन्। फोहोरमा बस्न बाध्य जनसंख्याको ठूलो हिस्सा दक्षिण एसियामा रहेको छ ।
दक्षिण एसियामा सयमा ६४ जना मानिसमा सरसफाइको पहुँच छैन। सन् २००० मा राष्ट्रसंघले तय गरेको सहस्राब्दी विकास लक्ष्यले सन् २०१५ सम्ममा स्वच्छ खानेपानी र आधारभूत सरसफाइबाट विाचत मानिसहरुको संख्या आधामा झार्ने उद्देश्य लिएको छ। तर अहिले पनि विकासोन्मुख देशका ग्रामीण क्षेत्रहरुमा दशमा आठ जनाले स्वच्छ पानी पिउन नपाइरहेको र एसिया र अफ्रिकाजस्ता क्षेत्रहरुमा सयमा ६० भन्दा बढीले आधारभूत सरसफाइको सुविधा नपाइरहेको अवस्थामा विकास लक्ष्य हासिल हुने सम्भावना टर्दै गएको छ। हात धुनु व्यक्तिगत सरसफाइको आधारभूत विषय हो। जबसम्म व्यक्ति स्वस्थ बन्न सक्दैन तबसम्म वातावरण सफा राख्ने कुरा दिवास्वप्न मात्र बन्छ । साबुनपानी नभए खरानी पानी वा त्यो पनि मिचिमिची तातो पानीले नियमित हात धुन सकेमा मात्रै पनि धेरै रोगव्याधबाट बच्न सकिन्छ । व्यक्ति स्वस्थ भएमा मात्र स्वस्थ र विकसित समाजको निर्माणमा सहयोग पुग्छ ।
- कुलचन्द्र अर्याल
स्रोत : नेपाल समाचारपत्र दैनिक, ०६७ मंसिर २, पेज नं ४