उचित व्यवस्थापन भए फोहोर मोहरमा रुपान्तरण
Posted by Administrator   
Thursday, 14 April 2011

काठमाडौं : सर्वोच्व अदाल बार एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद सापकोटाले फोहोर व्यवस्थापनको आधारभूत समस्या भनेकै राजनितिक तथा प्रशासकीय अड्चन हो भन्नुभएको छ । नेपाल बार एसोसिएसन, वातावरण कानुन समितिले बुधबार राजधानीमा आयोजना गरेको फोहोर मैला व्यवस्थापनसम्बन्धी समस्या र समाधानका उपायहरू विषयक अन्तर्किया कार्यक्रममा अध्यक्ष सापकोटाले सो कुरा बताउनुभएको हो ।

उहाँले राज्यशक्ति बलियो भएमा फोहोरमैला व्यवस्थापन गर्न सहज हुने तर राज्यसंयन्त्र नै सङ्क्रमणको अवस्थामा रहेको समयमा फोहोरमा राजनितिक चलखेल हुने कुरा औंल्याउनुभयो । फोहोरमैला स्रोत परिचालन केन्द्रका महाप्रबन्धक डा. सुमित्रा अमात्यले फोहोरको दिगो व्यवस्थापनका लागि आमजनता सचेत हुनुपर्ने बताउँदै गल्ने तथा पुनः प्रशोधन हुने फोहोरलाई उचित व्यवस्थापन गर्न सकेमा फोहोर व्यवस्थापन हाल देखिएको एक तिहाइ समस्या निवाकरण हुने धारणा व्यक्त गर्नुभयो । उहाँले गल्ने फोहोरको उचित व्यवस्थापन गर्न सकेमा फोहोर मोहरमा रुपान्तरण हुनसक्ने बताउनुभयो । फोहोरको व्यवस्थापनका लागि पहिलो प्रयास घरबाटै गर्नुपर्ने भन्दै सबैभन्दा पहिले सबैले आ आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्ने जिकिर गर्नुभयो । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेम बहादुर खड्काले फोहोको सही विर्सजनका लागि कानुनी व्यवस्थाका साथै जनचेतना अभिवृद्धिका सम्बन्धमा समेत लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले गल्ने र नलग्ने फोहोरलाई पृथकीकरण गरेर मात्र फोहोर सङ्कलन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल बार एसोसिएसन, वातावरण कानुन समितिका संयोजक प्राध्यापक डा. अम्बरप्रसाद पन्तले फोहेार मैलाको विर्सजनपछि पनि थुप्पै समस्या देखिएकाले फोहोरको विर्सजनपश्चात् समेत उक्त फोहोरले पार्न सक्ने समस्याको पहिचान गरेर सम्बन्धित पक्षले उचित रेखदेख तथा जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उहाँले फोहोरको व्यवस्थापनमा रहेका कानुनी, राजनितिक तथा व्यावहारिक अप्ठ्यारो निवारण गर्न सरोकारवालाबीच समन्वय गरी बेलैमा सुझाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा फोहोरमैला स्रोत परिचालन केन्द्रका प्रतिनिधि दिपेन्द्र वलीले फोहेार मैला व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले काठमाडौंको फाहोर व्यवस्थापन उचित रुपमा हुन नसकेको बताउँदै फोहोरको व्यवस्थापनलाई कानुनमा कसरी सम्बोधन गर्ने भन्ने बारेमा कानुन व्यवसायी संयुक्तरुपमा लाग्नुपर्ने बताउनुभयो । वलीले काठमाडौं महानगरपालिकाबाट निस्कने फोहोरमध्ये ६९ प्रतिशत जैविक फोहोर, नौ प्रतिशत कागज, नौ प्रतिशत प्लास्टिक, तीन प्रतिशत कपडा, एक प्रतिशत धातु, तीन प्रतिशत काँच एक प्रतिशत रबर, दुइ प्रतिशत निर्माण सामाग्री र तीन प्रतिशत मात्र ल्याण्डफिल्डमा फाल्ने फोहोर रहेको उल्लेख गर्नुभयो ।
स्रोत : गोरखापत्र ०६८ बैशाख १, पेज न ५