ढुंङ्गेछापमा खानेपानी सङ्कट
Posted by Administrator   
Thursday, 21 April 2011

रामेछाप : रामेछापको पूर्वीक्षेत्र सालु ढुंगेछापमा केही यता खानेपानीको हाहाकार भएको छ । यहाँका झन्डै ५० घपरिवार एक गाग्री पानी लिन नजिकै पानीको स्रोत नभएका कारण चार घण्टा तलको धारापानी खोला र पाँचघण्टा परको सुकाजोर र ओखेनी गाविससम्म जान बाध्य छन् । खानेपानीका लागि गाउँलेले सकेसम्म पहल गरे पनि सफल हुन नसकेको स्थानीयवासीको दुःखेसो छ ।

पानीको हाहाकार भएपछि गाउँलेकै सक्रियतामा धारापानी खोलाबाट लिफ्ट पद्धतिवाट पानी तान्न धारापानी उपभोक्ता समूह गठन गरी घरलौरी पैसा उठाए पनि आवश्यक पैसा नपुग्दा पानी खाने सपना तुहिएको स्थानीयको गुनसो छ । धारापानी खानेपानी योजना उपभोक्ता समूहका अध्यक्ष युवारज तामाङका अनुसार आर्थिक वर्ष ०६४/६५ मा गाविसले ७५ हजार दिएपछि गाउँलेले थप ८४ हजार रुपियाँ उठाएर इन्टेक, टयाँकी बनाउने र मोटर किन्ने काम गरे पनि अन्य सामग्रीको लागि पैसा नहुँदा योजना बीचैमा तुहिएको हो । प्राविधिक कार्यालयले जम्मा पाँच लाख रुपियाँको लागत इस्टिमेट गरे पनि दुइ लाखभन्दा बढी उठन नसकेपछि खानेपानीका लागि सात डाँडा पारि धाउन बाध्य भएको उहाँ बताउनुहुन्छ ।
'धारापानी खोलाबाट चार घण्टाको उकालो ढुंगेछापको लाँकुरीडाँडामा वालुवा, गिटि, ढुंगा गाउँले मिलेर ओसार्यौ र उठाएको पैसाले पानी तान्ने मोटर पनि किन्यौ । तर पाइप किन्ने पैसा नहुँदा चार वर्षेखि योजना अघि बढन सकेको छैन' समूहका सदस्य रामबहादुर लामाले भन्नुभयो । पानी तान्न मोटर चाहिन्छ भनेकाले गाँस काटेर र ऋण गरेर जम्मा पारेको पैसाले हत्तपत्त मोटर ल्यायौं पानी हाल्ने इन्टेक र टयाँकी बनायौं तर घाम र शीतले मोटर विग्रिसक्यो, टयाँकी भत्किसक्यो, पानी आउने चालचुल आजसम्म छैन उहाँले थप्नुभयो ।
ढुंगेछापका स्थानीय रामबहादुर तामाङका अनुसार राजनीतिक दल, गाउँ विकास समिति र खानेपानी कार्यालयले 'पहिला जनताले पहल गर्नुपर्छ,  सरकारी सहयोग मिल्छ' भनेकाले गाउले एकजुट भएर लागे पनि अन्तिममा कसैले सहयोग नगर्दा खानेपानीको योजना अलपत्र भएको हो । उहाँले भन्नुभयो तिमीहरु होस्टे गर हामी हैसे गछौं पानी आउँछ भन्दै हाम्रो पैसा फसाए । ६ महिना पनि खान नपुग्ने जनताले कुखुराको अण्डा र गुन्द्री बेचेर घरलौरी जम्मा पारेको ८४ हजार रुपियाँ पैसा र श्रम अनाहकमा खेर गयो । सालु गाविसका सचिव माधवप्रसाद सुवेदी योजना अघि बढन नसकेको र किनिएको सामान पनि नष्ट हुँदै गएको स्वीकार्नुहुन्छ । उहाँले भन्नुभयो पानीको ज्यादै दुःख भएको घाम जत्तिकै छलङ्ग छ तर मैले मात्रै गर्ने होइन, सर्वदलीयले पास गर्नुपर्छ । अब त गाविसले दिएको पैसा मोटर मर्मत गर्ने नपुग्ने अवस्था आयो, नयाँ काम त कहिले हुने हो । गत वर्ष योजनाका लागि २५ हजार मात्रै छुटयाउन सकिएको र नपुग पैसा छुटयाइएका कारण जनताले विनासित्ति भोग्नुपरेको उहाँले बताउनुभयो ।
स्रोत : गोरखापत्र दैनिक, ०६८ बैशाख ८, पेज नं. १२